धरान : सुनसरीको धरान मोरङको केराबारी सिमाना स्थित बृद्धगंगामा धरान-६ को शिवबाबा भक्त समाज पानबारीले पितृ उद्धार अश्वमेध महायज्ञ ‘कोटी होम’ आयोजना गर्ने तयारी गरेको छ ।

समाजका अध्यक्ष रमेश कटुवालले शनिवार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएका हुन । कोटी होम उक्त स्थानमा सुविधाजनक दाहसंस्कार निर्माण गर्न आयोजना गर्न लागेको उनले बताए ।

महायज्ञ माघ १९ गते देखी सुरु हुनेछ । होममा पितृ दोष लागेकाहरू, कालसर्प योग भएकाहरूले ८ कुण्डमा हवन गर्नुपर्ने लगायतका विधि अपनाइने जानकारी गराइएको छ । होममा देव, पितृ र ग्रहको नाममा तुला दान, शय्या दान, भूमि दान, नगद दान, व्राम्हण वस्त्र, गुरु भोजन दान ग्रहण गरिने छ ।

कोसी प्रदेशका सांसद रमेश बस्नेतले प्रदेश सरकारबाट घोषित पर्यटन वर्षलाई कोटी होमले सघाउ पुर्‍याउने बताए । कोटी होमलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कोटीहोम प्रदेशमै पहिलो पटक हुन लागेको अध्यक्ष कटुवालले बताए । कोटीहोममा लाखौँ भक्तजनहरूको आवागमन हुने भएकोले यसबाट धार्मिक पर्यटन प्रवर्द्धन समेत हुने उनको भनाई छ । विश्वमै वैदिक सनातन धर्मको प्रचार प्रसारको प्रारम्भ नेपालबाट भएकोले कोटी होमले त्यसलाई निरन्तरता दिने उनले बताए छ ।