धरान : गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाको दसौँ महाधिवेशनले अध्यक्ष पदमा उमेश भट्टराईलाई सर्वसम्मत चयन गरेको छ । राजधानी रियादमा भएको महाधिवेशने भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।
साउदी अरेबियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन् । उनीहरूको हकहित, सेवा, समन्वय र समस्यामा गैरआवासीय नेपाल सङ्घ क्रियाशील रहँदै आएको छ ।
महाधिवेशनमा निवर्तमान अध्यक्ष रबिना अर्यालले कार्यकाल सम्पन्न भएको घोषणा गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्दै प्रवासी नेपालीको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाइन ।
नवनिर्वाचित अध्यक्ष भट्टराईले जिम्मेवारीलाई अवसर र चुनौती दुबैका रूपमा स्वीकार गर्दै समावेशी नेतृत्व र प्रभावकारी काम गर्ने सङ्कल्प व्यक्त गरे ।
साउदी अरेबियाका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले गैरआवासीय नेपाली सङ्घ साउदी अरेबियाले नेपाली समुदायका लागि गर्दै आएको कार्यको प्रशंसा गरे ।
नवनिर्वाचित उपाध्यक्ष विष्णु भण्डारीले सङ्घले विगतमा राहदानी नवीकरण, श्रमिक समस्याको मध्यस्थताका लागी सक्रिय भूमिका रहने बताए ।
लोकप्रिय सेलो गायिका जितु लोप्चनको साङ्गीतिक प्रस्तुति दिए । महाधिवेशनमा साउदी अरेबियाका विभिन्न क्षेत्रहरूबाट प्रतिनिधित्व गर्दै आएका एनआरएन पदाधिकारी, समाजसेवी, श्रमिक अगुवा र महिलाहरूको उल्लेखनीय उपस्थिति थियो ।