धरान: डिपो स्कुलको कोर्टमा जारी कोशी प्रदेश ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा आयोजक जिल्ला सुनसरी र इलाम भिड्ने भएको छ ।
प्रतियोगिताको शनिवार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई सहज रूपमा पराजित गर्दै फाइनलमा प्रवेश ग¥यो । सुनसरीले धनकुटालाई ६९–२५ को फराकिलो अन्तरले पराजित गरेको छ ।
खेलमा सुनसरीले धनकुटा विरुद्ध प्रत्येक क्वाटरमा १६–४, १३–५, १६–५ र २४–१० अङ्क जोडेको थियो ।  खेलमा सुनसरीका सुसन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । 
दोस्रो सेमिफाइनल खेलमा इलामले भोजपुरलाई ६०–४९ अङ्कको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । 
इलाम र भोजपुरले खेलको प्रत्येक क्वाटरमा १२–८, १७–९, १५–१२ र १६–२० अङ्क जोडेको थियो । उक्त खेलको म्यान अफ दि म्याच इलामका मनिस तामाङ घोषित भए । 
धरान बास्केटबल सङ्घको आयोजना तथा कोसी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सञ्चालित प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा ८ वटा जिल्लाका टिमले सहभागी थिए । 
प्रतियोगिताका विजेताले नगद २ लाख, उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडी धरान मेघा एमभिपि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
असार ५ गते बिहीबार देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतबार डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।