धरान: प्रहरीले काँकडभिट्टा बसपार्कबाट भारतीय नागरिक भारतको सिलिगुडी, दुर्गा नगरका ३५ वर्षीय जयप्रकाश कुमार पाठकलाई शुक्रवार हतियार सहित पक्राउ गरेको छ । 
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार ईलाका प्रहरी कार्यालय काँकडभिट्टालाई प्राप्त सूचनाका आधारमा खटिएको टोलीले पाठकलाई हात हतियार सहित पक्राउ गरेको हो ।
उनीबाट ‘स्टार आरएक्स’ एयर पेस्तोल, त्यसमा लाग्ने म्यागेजिनमा ५ थान एयर बुलेट र २ थान खुकुरी बरामद गरिएको छ । उक्त हतियार भारतीय नम्बर प्लेट डब्लुबी ७० जी३२३२ नम्बरको टियुभी३०० मोडलको गाडीमा बरामद भएको हो । 
गाडी चेकजाँच गर्दा चालक सिट मुनी पेस्तोल र बुलेट लुकाइराखिएको सिटको दुवै छेउमा २ थान खुकुरी राखिएको फेला परेको प्रहरीले जनाएको छ । 
पाठकको साथबाट रेडमी र सामसुङ कम्पनीका २ वटा मोबाइल, परिचय खुल्ने कागजातहरू र गाडीको आरसी बुकसमेत बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ ।