धरान: कोशी प्रदेश सरकारले घोषणा गरेको प्रदेश पर्यटन वर्ष २०८२ सातै प्रदेश बिच आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने अवसर भएको सन्देश सहित चितवन र पोखरामा पर्यटन व्यवसायीहरू बिच अन्तर्क्रिया गरिएको छ ।
कोशी प्रदेशका पर्यटन व्यवसायीहरूको टोलीले त्यहाँका पर्यटन व्यवसायीहरुसंग अन्तरक्रिया गरेको हो । उनीहरू ‘घुमौँ पूर्व कोशी प्रदेश पर्यटन वर्ष २०८२ सफल पारौँ’ भन्ने सन्देशका साथ बिहीबार चितवन पुगेका छन् ।  
उनीहरूलाई होटेल व्यवसायी सङ्घ चितवनले स्वागत गरेको थियो ।  नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा पर्यटन प्रवर्द्धन भ्रमण गरिएको हो । 
पूर्वका पर्यटन ब्यवसयीहरुको टोलीले बागमती र गण्डकी प्रदेशमा अन्तरक्रिया ,छलफल गर्दै  धार्मिक पर्यटकीय क्षेत्रहरूको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नेछन् । भ्रमणले अन्तर प्रदेश पर्यटन सम्बन्धलाई मजबुत बनाउने तेजबहादुर पुरीले बताए ।
प्रमुख अतिथि होटेल व्यवसायी महासङ्घका अध्यक्ष दिनेश कुमार चुकेले ठुला ठुला स्टार होटलहरुमा बाहिरका पर्यट्कहरु कै कारण चलेको बताए ।
केन्द्रीय उपाध्यक्ष देवी गौतम रबिनले  पूर्वमा भएका धेरै महत्त्व रहेको धार्मिक पर्यटकीय गन्तव्यको स्मरण गराए । उनले साना व्यवसायीले बैङ्कबाट ऋण लिएर व्यवसायी गरेको हुन्छ तर सरकारी नीतिका करणले पर्यटन व्यवसाय मारमा परेको बताए ।
सङ्घका चितवन अध्यक्ष लोकनाथ भट्टको सभापतित्वमा अन्तरक्रियामा भरतपुर–१ का वडाध्यक्ष केशव महर्जन, महासङ्घ झापा  अध्यक्ष  इन्दिरा श्रेष्ठ, कोशी प्रदेश उपाध्यक्ष गोविन्द थापा, विराटनगर उपाध्यक्ष खिला राज सुवेदी, होटेल तथा लज व्यवसायी समिति वरिष्ठ उपाध्यक्ष दीपक पोख्रेल, होटेल व्यवसायी सङ्घ भेडेटारका सचिव रमेस श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी थिए ।