धरान : नेपालको पर्यटन प्राकृतिक सौन्दर्यमा निर्भर रहेकाले ग्रामीण पर्यटनका सरोकारवालाहरूलाई यसको व्यवहारिक पक्ष नबुझाए सम्म पर्यटनको विकास र समुचित लाभ समुदायले नपाउने बिहीबार आयोजित प्रशिक्षण कार्यक्रममा सहभागीहरूले बताएका छन् ।कोशी प्रदेश सरकारको प्रदेश पर्यटन वर्ष २०८२ को अवसरमा पर्यटन कार्यालय धरानले धरान र धनकुटाको डाँडा बजार प्रशिक्षण आयोजना गरेको हो । तालिम धरानमा २ दिन र डाँडा बजार ३ दिन सञ्चालन हुनेछ ।
धरानको पूर्वी स्टारमा सुरु भएको प्रशिक्षणमा प्रदेश पर्यटन वर्ष निर्देशन समिति सदस्य वासुदेव बरालले ग्रामीण पर्यटनका सरोकारवालाहरूलाई व्यवहारिक पक्ष नबुझाए सम्म पर्यटनको विकास र समुचित लाभ समुदायले नपाउने बताए ।
त्यसैका लागि पूर्वी पहाडी क्षेत्रलाई लक्षित गरी प्रशिक्षण सञ्चालन गरिएको उनले बताए । बरालले भने ‘‘पर्यटनको कुरा चाहिँ व्यापक हुन्छ, दक्ष जनशक्ति बनाउनेमा भने ध्यान गएको छैन, जनशक्ति तयार गरेर प्रदेशमा पर्यटन अभियान चलाउन प्रशिक्षण आयोजना गरिएको हो ।’
तालिममा सरोकारवालाहरू नै सहभागी भएकाले तालिम प्राप्त जनशक्तिबाट ग्रामीण क्षेत्रमा पर्यटनको कुरा बुझाउने विश्वास गरिएको उनको भनाई छ । बरालले भने ‘पर्यटनको विषयमा धेरै छलफल हुँदै आएपनि पर्यटनको बारेमा जानकारी दिने मान्छेहरूको अभाव छ ।’
प्रशिक्षणमा कोशी प्रदेशका पर्यटन क्षेत्रका सरोकारवालाहरू ३० जना सहभागी छन् । प्रदेशको १४ जिल्लाबाट २/२ जना प्रतिनिधि प्रशिक्षणमा सहभागी रहेको पर्यटन कार्यालय कार्यक्रम संयोजक भीषम राईले जानकारी दिए ।
प्रशिक्षणको उद्घाटन कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले गरेका छन् । उनले पर्यटन वर्ष २०८२ लाई लक्षित गरेर प्रदेश सरकार पर्यटन प्रवर्द्धनमा लागि परेको बताए ।
उनले भने ‘प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेको छ, यसमा मिडियाको भूमिका महत्त्वपूर्ण रहेकाले सञ्चारकर्मीहरूलाई सकारात्मक भूमिका निर्वाह गरिदिन प्रदेश सरकारको आग्रह छ ।’
प्रशिक्षणमा ग्रामीण पर्यटन विज्ञ डा. चेतनाथ कँडेल र प्रशिक्षक मोहन श्रेष्ठले सहजीकरण गरिरहेका छन् । धरानमा सुरु भएको प्रशिक्षणको पहिलो सत्रमा प्रशिक्षक मोहन श्रेष्ठले पर्यटन के हो ? कस्ता कस्ता हुन्छन् ? पर्यटन प्रणाली र दिगो पर्यटन विकासको अवधारणा र अभ्यासहरूका बारेमा प्रकाश पारे ।
सहभागी तेह्रथुम आठराई गापा-२ खोरुङदेन सामुदायिक होमस्टे सञ्चालिका सृजना लामा फोम्बोले होमस्टेले सोचेजस्तो उपलब्धि दिन नसकेको बताइन् । उनका अनुसार सुरुमा केही राम्रो भए पनि हाल होम स्टेहरु सामान्य चलेको छ ।
उनले भनिन् ‘पर्यटनलाई आर्थिक पाटोसँग जोड्न सके महिलाहरूको श्रम गाउँमै बिक्थ्यो ।’ ग्रामीण महिलाहरूको श्रम होमस्टे मार्फत बिक्री गर्न सकियो भने आर्थिक रूपमा ग्रामीण महिलाहरू सबल हुने उनको भनाई छ ।
paryatan-training-2