बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित आदर्श सामुदायिक सिकाई केन्द्रले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।
बुधवार बिपी आधारभूत विद्यालयको प्राङ्गणमा उक्त आधारभूत तह (१-५ ) स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । 
प्रतियोगितामा राधाकृष्ण संस्कृत गुरुकुल विद्यालय चतरा धाम प्रथम भएको छ ।
त्यस्तै दोस्रो भगवती आधारभूत विद्यालय बगुवा र तेस्रो पञ्चकन्या आधारभूत विद्यालय बाग्ललवारी बन्न सफल भएको थियो । त्यस्तै सुर्यकुण्ड माध्यमिक विद्यालय सुर्यकुण्ड सान्त्वना बन्न सफल भएको थियो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले ३ हजार , दोस्रो हुने विद्यालयले २ हजार ७ सय, तेस्रो हुने विद्यालयले २ हजार ४ सय र सान्तवना  हुने विद्यालयले १ हजार १ सय सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।
आदर्श सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कृष्ण प्रसाद गुरागाईँ (गोकुल) को सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य ममता तामाङ प्रमुख अतिथि रहेकी थिइन् । 
आदर्श सामुदायिक सिकाई केन्द्रको वार्षिक स्वकृत कार्यक्रम अनुसार वराहक्षेत्र नगरपालिका वडा नं १ र २ मा रहेका आधारभूत तह (१-५ ) का छात्र/छात्रा बिद्यार्थीहरुको सहभागिता गराएर हाजिरी जवाफ प्रतियोगिता आयोजना भएको थियो ।
प्रतियोगितामा वडा नं १ र २ मा रहेका सम्पूर्ण १२ वटा सामुदायिक आधारभूत तह (१-५) का बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको सहजकर्ता आदर्श माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ज्ञान बहादुर पाण्डेले बताए ।
यस अगाडि पनि आदर्श सामुदायिक सिकाई केन्द्रले १ सय जना महिलाहरूलाई सहभागिता गराएर कानुनी साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।