• लोकराज निरौला

आफ्नै विरासत बिर्सने भुईँफुट्टाहरूले,

आफ्नै पिता पुर्खाको योगदानलाई भुल्नेहरूले,

हामीलाई झोले नामकरण गर्नु भन्दा,

अगाडी नै हामी झोले थियौँ । 


हाम्रा पिता पुर्खाहरूले,

अक्करको भीर खोपेर,

गोरेटो बाटो बनाए,

गाउँ ठाउँका जाली फटाहा सामन्तहरूको,

खेतबारीमा बिना मूल्य श्रम गरेर,

श्रमदानका पिता बनेका थिए ।


हाम्रा पिता पुर्खाले,

खकन टेकन (टोक्मा) लगाएर,

ढाकर बोके

आधा आङ वस्त्र लगाएर,

खाली खुट्टा हिँडेर,

हामीलाई नुन तेल र रासन खुवाए,

बिरामी हुँदा वैद्य धामी झाँक्रीकोमा पुर्‍याए ।

त्यसैले हाम्रा पिता पुर्खाहरू ढाक्रे भए,

हामीलाई हाम्रा पिता पुर्खाहरू,

ढाक्रे भएकोमा गौरव छ । 


हाम्रा पिता पुर्खाहरूले,

अक्करको भिर खोपेर बाटो देखाएकोमा,

खटन टेकन तोक्मा लगाएर

ढाकर बोकेकोमा 

त्यसैको उत्प्रेरणाले

आज हामीले

विचार सिद्धान्त र आस्थाको,

झोला बोक्न पाएकोमा,

पेशा र जिम्मेवारीको झोला बोक्न पाएकोमा

हिजो देखि आज सम्म,

इमान र पेशाको,

झोला बोक्न पाएकोमा,

हामी झोले हुनुमा गौरव गर्छौँ । 


हाम्रो झोलामा,

सिद्धान्त र विचारको मुहान भएकोमा,

जगत् र वर्गलाई हेर्ने दृष्टिकोण भएकोमा

धर्म र समाजलाई हेर्ने दृष्टिकोण भएकोमा

प्रणालीलाई हेर्ने चिन्तन भएकोमा,

जात र क्षेत्रलाई हेर्ने दृष्टिकोण भएकोमा,

धर्म कला साहित्य र संस्कृतिलाई

बुझ्ने ऐतिहासिक भौतिकवादी दृष्टिकोण भएकोमा

अवसरवादी नयाँ झोलेहरूले

जे सुकै भने पनि 

हामी झोले हुनु पाएकोमा गौरव गर्दछौँ ।।