इटहरी : सोल्टी वेस्टेन्डको नामले परिचित इटहरीको गरिमा होटेलको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुल्ने भएको छ । होटेल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटलबिच रोडम्याप सम्झौता भएसँगै आइपिओ खुल्ने भएको हो ।
सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटेल गरिमा लिमिटेडले आइपिओ जारी गरी नेपालको पुँजी बजारमा प्रवेश गर्न लागेको छ ।
जेठ २३ गते शुक्रवारका एनआईएमबी एस क्यापिटल लिमिटेड सँग ‘रोडम्याप टु आइपिओ’ सम्बन्धी रणनीतिक सहकार्य तथा परामर्शका लागि सम्झौता भयो ।
होटेल गरिमा लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका तर्फबाट क्यापिटलका डेपुटी सिइओ सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एनआईएमबी एस क्यापिटलले आइपिओ सम्बन्धित विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा गर्ने भएको छ ।
होटेल गरिमालाई आइपिओ प्रक्रियाको तयारी, नियामक निकायहरू सँगको समन्वय तथा संस्थागत व्यवस्थापनको जिम्मेवारी एनआईएमबीले लिएको छ । 
होटेल गरिमाको पुँजी बजार प्रवेशले कम्पनीको विकासमा कोसेढुंगा साबित हुने प्रबन्ध निर्देशक पौडेलले बताए । आइपिओ जारी भएपछि पारदर्शिता, व्यावसायिक उत्कृष्टता र लगानी विस्तार गरी आतिथ्य सत्कार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ । 
एनआईएमबीका डेपुटी सिइओ ढुङ्गानाले सम्झौता पत्रमा उल्लेख भए अनुसार नै होटेल गरिमालाई आवश्यक परामर्श र सहयोग प्रदान गर्ने बताए ।
होटेल गरिमाको तर्फबाट आइपिओ प्रक्रिया प्रारम्भ गर्नु कम्पनीको दिगो विकास, संस्थागत पारदर्शिता तथा आम लगानीकर्तालाई आतिथ्य क्षेत्रमा आकर्षित गर्ने उनको भनाइ छ ।