इटहरी : किवानिस क्लब अफ तरहराले धनकुटाको भानु माध्यमिक विद्यालय डाँडा बजारमा पोशाक वितरण गरेको छ ।
क्लबको स्टिचिङ फ्युचर कार्यक्रम अन्तर्गत पूर्व-प्राथमिक तहका बालबालिकाहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो । 
किवानिस इन्टरनेशनल डिस्ट्रीक्ट १ का लेफ्टिनेन्ट गभर्नर विकास बजगाईँको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । क्लबका तरहरा अध्यक्ष गोविन्द घिमिरेको सभापतित्वमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
विद्यार्थीहरूलाई पोसाकसहित झोला, जुत्ता, मोजा, पेन्सिल, इरेजर, रङ्ग सेट, र कापी लगायतका सामग्री वितरण गरिएको घिमिरेले बताए । ७० हजार मूल्य बराबरका  वितरण गरिएको र आगामी दिनमा अझै धेरै शैक्षिक गतिविधिमा सहभागी हुने उनको भनाइ छ ।
सहयोगी कृष्ण बहादुर वलोने र धनन्जय प्रसाद आचार्यलाई विशेष धन्यवाद दिँदै कार्यक्रम संयोजक सुरज तामाङले आपसमा सहयोग र सद्भावले सामाजिक उत्तरदायित्व पूरा गर्न सकिने बताए । अब सुनसरीका ग्रामीण विद्यालयलाई ध्यान दिइने बताउँदै किवानिस क्लबले बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने प्रष्ट पारे ।