धरान : नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेले काँग्रेसको सिद्धान्त विकासको पाटोमा समुन्नत समाजको कल्पना गरेको पार्टी भएकोले भातृ संस्थाको पृष्ठभूमि बिर्सनु नहुने बताएका छन् ।
नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) सङ्घको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उनले भने ‘पार्टीको छाता भित्र गोलबद्ध भएर जातीय संस्था जीवन्त रहेको कारण आन्दोलनको रूपमा भातृसस्था अगाडी बढेको छ ।’
२००७ सालको क्रान्तिमा लिम्बू जातिको भूमिका, पूर्व लिम्बुवानको ऐतिहासिक सामाजिक सांस्कृतिक विरासत अहिले पनि आन्दोलनका रूपमा ‘जीवन्त’ रहेको उनले उल्लेख गरेका हुन ।
सहमहामन्त्री आङदाम्बे नेपाली समाजको विकासलाई समुन्नति को लक्ष्यमा पुर्याउन समुदायको पृष्ठभूमि, इतिहासलाई समेट्दै राजनीतिमा बौद्धिक आन्दोलन हुनुपर्ने बताउँदै भने ‘तर बौद्धिक आन्दोलन नभएको कारण राजनैतिक दलहरूले जनताप्रति गरेको प्रतिबद्धता ईमान्दारिताका साथ पूरा गरेनन् ।’
उनले भने ‘बौद्धिक आन्दोलन सरल रेखामा निरन्तर विशुद्ध भएर बग्नु पर्दथ्यो तर बगेन नबगेका राजनैतिक दल छाडा भए मनपरी बोल्न र गर्न थाले ।’
बौद्धिक आन्दोलनले निरन्तरता दिँदै राजनैतिक दललाई चुनौती देखाई राख्नु पर्दथ्यो तर त्यो आन्दोलन कुनै पनि दलका बौद्धिक समुदायबाट नभएको उनको भनाई छ ।
बौद्धिक आन्दोलन भएको भए भूगोलको जटिलता, संवेदनशीलता अघि आउने थियो र राजनैतिक दललाई घच्घच्याउदथ्यो तर बौद्धिक जमातले दललाई घच्घच्याउन नसकेको कारण दलमा मनोपोली बढेको उनले बताए ।
उनले भने ‘बौद्धिक आन्दोलन नभएको कारण नेपाली राजनीतिमा छाडापन र उछृङ्खलपन बढेको छ नेताले बोलेको कुरामा ओज हराएको छ ।’
समारोहमा लोकतान्त्रिक याक्थुङ लिम्बू सङ्घका पूर्व अध्यक्ष, लालिगुँरास नगरपालिका मेयर अर्जुनबाबु माबुहाङले नेपाली काँग्रेस पार्टी निर्माणमा लिम्बू समुदायको ठुलो योगदान रहेको बताउँदै भने ‘पञ्चायत कालमा नेपाली काँग्रेसका धेरै लिम्बू सहिद भए, तर उनीहरूलाई काँग्रेसको इतिहासमा समेटिएन ।’
उनले २००७ सालको सशस्त्र क्रान्तिमा काँग्रेसको मुक्ति सेनाका पूर्वका कमाण्डर जीबी याक्थुङबाको इतिहास नेपाली काँग्रेसको इतिहास नसमेटिएको बताए ।
उनले भने ‘स्थानीय गाउँपालिकाको नाम पनि कोशी हुँदाहुँदै प्रदेशको नाम पनि किन कोशी राखियो ?’ भनी प्रश्न गर्दै संविधान निर्माण देखी नामकरणको बेला सम्म कसैले उच्चारण नगरेको नाम राखिनुमा एकल जातीय गोत्रीय सोचले विद्यमान रहेको बताए ।
माबुहाङले यस विषयमा नेपाली काँग्रेसले गम्भीर भए सोच्नु आवश्यक रहेको बताउँदै भने ‘जबरजस्ती ढङ्गले मुक्कुमलुङ मासिनु पर्ने निर्णय कसले किन गर्यो ?’ मुक्कुमलुङ/पाथीभर लिम्बूवानको मात्र नभई नेपालको सम्पदा भएको काँग्रेसले बिर्सन नहुने बताए ।
आदिवासी जनजाति महासघ अध्यक्ष ओम घर्ती मगरले समानुपातिक समावेशी सांसदको कोटा काट्न नपाइने बताए । उनले भने भने ‘संविधान प्रदत्त अधिकार काट्न पाइँदैन ।’
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा, पूर्व सांसद मिना सुब्बा, खड्ग फागो लगायत शुभकामना प्रकट गरेका थिए । काँग्रेस महामन्त्री गगन थापाले महाधिवेशनको उद्घाटन गरेका थिए ।