धरान : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा दोषी देखिएकाहरू जो केहीलाई पनि कडा भन्दा कडा कारबाही हुनुपर्ने बताएका छन् । उनले दोषी कसैले पनि उन्मुक्ति पाउन नहुने दोषीले दण्ड सजाय पाउनुपर्ने बताए । महामन्त्री थापाले गृहमन्त्री रमेश लेखकले इमानदारीपूर्वकता काम गरेको आफूहरूको विश्वास रहे तापनि ससदमा कुरा उठेपछि राजीनामा दिएर उच्च स्तरीय छानबिनका लागि माग गर्नु पर्दछ अनि मात्र नेपाली काँग्रेसमा रहेका व्यक्ति लोकतान्त्रिक हुन्छन् भन्ने कुराको आशय जनता माझ जाने बताए ।
महामन्त्री थापाले पार्टी भित्रका सदस्यहरू दोषी देखिए पनि सजायको भागीदार हुनुपर्ने अवस्था हुन्छ उहाँ तँ झन् संवैधानिक निकायका गृहमन्त्री हुन राजीनामा दिएर मार्ग प्रदत्त गर्नु पर्ने धारणा सार्वजनिक गरेका छन् ।
उनले भने ‘नेपाली काँग्रेस पार्टी कुनै पनि सार्वजनिक कुनै पनि जिम्मेवारीमा बसेको व्यक्तिले गलत काम गर्छ, अख्तियारको दुरुपयोग गर्छ र देश र जनताको अहित गर्छ अनि आफ्नो निजी सम्पत्ति बढाउने काम गर्छ भने त्यसले दण्ड पाउनुपर्छ, ।’
उनले दण्ड पाउँदा यो मेरो त्यो, तेरो भन्ने हुँदैन भनी बताए । जसले गलत गर्छ, त्यसको सजाय पाउनै पर्ने थापाको भनाई थियो । उनले भने ‘निर्दोष कोही पनि फस्न नहुने र दोषी कसैले पनि उन्मुक्ति पाउँन हुँदैन ।’
नेपाली काँग्रेस उपमहानगर समिति धरानको दोस्रो नगर सम्मेलनमा महामन्त्री थापाले उक्त कुरा बताएका हुन । महामन्त्री थापाले नेपाली काँग्रेसका नेताहरूमा विश्वासिलो पात्र भए पनि नेताको विश्वास भन्दा माथि कानुन र प्रमाण हुने बताए ।
अख्तियारले निष्पक्ष छानबिन गर्नुपर्छ भन्ने पार्टीको विश्वास रहने बताउँदै महामन्त्री थापाले भने ‘छानबिन गर्दै गर्दा कथमकदाचित मन्त्री माथि नै छानबिन हुने अवस्था आएको अवस्थामा मन्त्रीले आफ्नो जिम्मेवारी छाड्नुपर्छ ।’
जिम्मेवारीबाट अलग रहनुपर्छ र गल्ती गरेको छ भने सजाय भोग्नु पर्ने उनले स्पष्ट गरे । उनले भने ‘हाम्रो विश्वास छ त्यस्तो भएको छैन, तर विश्वास भन्दामाथि तथ्य र प्रमाण हुन्छ ।’
उनले अनुसन्धानको दायरामा जोसुकै मन्त्री भए पनि जिम्मेवारीमा बस्न नमिल्ने बताए । भिजिट भिसा प्रकरण अमानवीय, अक्षम्य अपराध भएकोले अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने उनको भनाइ छ ।
महामन्त्री थापाले भने ‘भिजिट भिसाको कुरा गर्दा नेपालको एउटा नागरिक नेपाल छोडेर बाहिर जाँदै गर्दा खेरी अन्तर्राष्ट्रिय विमानस्थलमा ठगीमा पर्ने, शोषणमा पर्ने कुराले स्तब्ध बनाएको छ,।’ उनले यो प्रकरणमा जसबाट संरक्षण हुनुपर्ने उसैबाट पीडित भएको, जसले नागरिकलाई सुरक्षा दिनुपर्ने हो, यस्तो गलत कुकृत्यमा संलग्न भएको एक जनाले पनि छुट पाउनु नहुने बताए ।
जहिले देखि यो प्रकरण सुरु भयो त्यस बेला देखीका सबैको विस्तृत अनुसन्धान गरेर सजाय पाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘अख्तियारलाई काँग्रेसका तर्फबाट सुझाव छ, संवैधानिक संस्था हो, शक्तिको भक्ति नगरिकन निर्भीक भएर काम गर्नुपर्छ ।’
उनले अख्तियारले शक्तिबाट कोही प्रभावित नभई कन भीडबाट प्रभावित नभई कन निष्पक्ष ढङ्गले छानबिन गर्न सुल्झाए । ‘यसको जरा कहाँ छ, हाँगा–बिगा कहाँ कहाँ छन्, को–को संलग्न छन्, जसले देखि सुरु भयो, एक एक फाइल पल्टाएर एक एक दोषीलाई सजाय दिनुपर्छ,’ महामन्त्री थापाले भने । उनले काँग्रेसको कोही मान्छे पर्छ भने रुवाबासी नगर्ने बताए ।
उनले भने ‘हाम्रो कोही मान्छे प¥यो भने हामी रुवाबासी गरेर सडकमा आएर हाम्रो मान्छे बचाउनुपर्छ भन्ने वाला छैनौँ ।’ गलत गरेको छ भने काँग्रेस होस, एमाले होस, माओवादी वा अरू जो सुकै भएता पनि सजाय पाउनुपर्छ, यो कुरामा पार्टी प्रष्ट रहेको उनले बताए ।
अख्तियारले छानबिन गर्दा सम्बन्धित मन्त्रालयका अधिकारी वा नेतृत्व छानबिन गर्दा प्रमाणका आधारमा दोषी ठहरिँदै जाने बताए । अनुसन्धानको दायरामा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवारी ठहर्याउने विषय न कानुनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ भन्ने उनको भनाई छ । गृहमन्त्री रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको र गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहेको विश्वास रहेको महामन्त्री थापाले बताए ।
उनले भने ‘यदि भिजिट भिसा प्रकरणको अनुसन्धान गृहमन्त्री सम्म पुग्छ भने अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल हुन्छ ।’
महामन्त्री थापाले अहिलेको सरकारको प्रसङ्गमा जे सोचेर गठबन्धन सरकार बनाएको हो त्यो काम नभइरहेको बताए । यसमा चिन्तन गर्नुपर्ने आवश्यकता भएको बताउँदै उनले भने ‘काँग्रेसबाट नेतृत्व गर्नेहरूले ८४ सम्म केन्द्र, प्रदेश र स्थानीय सरकारमा हाम्रो कारणले यो यो भयो भन्न सक्ने वातावरण तयार गर्नुपर्छ ।’
उनले नेपाली काँग्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको स्वामीत्व लिएको र संविधान संशोधनमा पनि त्यही अनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले नेपाल राजसंस्थालाई कसैले संवैधानिक बनाउन नसक्ने दाबी गरे ।
काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले काँग्रेस कम्युनिष्ष्ट पछि लागेको आरोप लगाउनेहरूलाई उनीहरूले कुरो उल्टो बुझिरहेको बताउँदै भने ‘नेपालका कम्युनिस्टहरू काँग्रेसको पछाडि दौडी रहेका छन् काँग्रेस कम्युननिष्ठको पछाडि लागेको छैन ।’
उनले भने ‘तर काँग्रेस सच्चिनु जरुरी छ ।’ काग्रेसीहरुमा सकारात्मक सोचको विकास भएमा देशको भविष्य बन्छ । काँग्रेसमा सकारात्मक सोचको निर्माण गर्नु अति जरुरी भएको उनले बताए ।
उनले भने ‘केन्द्र देखि नगर सम्म सच्चिनु पर्छ अनि मात्र काँग्रेस सप्रिन्छ ।’ काँग्रेस कार्यकर्ताहरूले आफ्नै पार्टीको बारेमा नकारात्मक टिप्पणी गरेर गलत तत्त्वहरूलाई सघाउपुर्याएको बताउँदै उनले भने ‘कोकको पसल खोलेर पोप्सीको विज्ञापन गरेजस्तो अब हुन हुँदैन ।’
अहिले सामाजिक सञ्जालका कारण देशमा सकारात्मकता होइन नकारात्मक बिक्ने गरेको बताउँदै उनले भने ‘देशमा अहिले नक्कली स्टन्टबाजि मात्र बिक्ने भएकोले त्यस्तै भैरहेको छ ।’
नगर सम्मेलनमा नेपाली काँग्रेस धरानले पुराना काँग्रेस नेता तथा डाक्टर, विद्यार्थी लगायत एक दर्जन बुद्धिजीवीहरूलाई सम्मान गरेको छ । कार्यक्रम धरान नगर सभापति श्याम पोख्रेलको सभापतित्वमा भएको थियो ।
