धरान : नेपाल धितो बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले अधिकांश नेपाली लगानीकर्तामा बजारको विश्लेषण गर्ने क्षमता र सिपको विकास भइसकेकोले पुँजी बजार निर्माणमा कठिनाइ विद्यमान रहेको बताएका छन् ।
धरानमा आज मङ्गलवार आयोजित पुँजी बजार, पुँजी परिचालन र लगानी सम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले भने ‘पुँजी बजारको साक्षरता बढाउन लगानीकर्तालाई तात्कालिक नतिजा मात्र होइन दीर्घकालीन नतिजा पनि हेर्नु पर्ने कुरा बुझाउनु पर्छ ।’
अधिकांश लगानीकर्तामा बजारको विश्लेषण गर्ने क्षमता र सिपको विकास भइसकेको छैन । साना व्यवसायी, सेयर धनी र ‘पुँजीपति उद्यमी भेन्चर क्यापिटल’ निजी लगानीकर्ताले पुँजी बजारमा रकम हालेर जोखिम मोल्ने गरेको उनले बताए ।
अधिकारीले भने ‘कहिलेकाहीँ उनीहरूले लगानी गरेका परियोजना घाटामा जान्छ, यस्तो अवस्थाको विश्लेषण गर्न सेयर बजार सम्बन्धी जनचेतना बढाउन जरुरी हुन्छ ।’
नेपालमा नेप्सेको सुधार गरेरै पुँजी बजारको आधुनिक विकास र विस्तार गर्न सकिने उनले बताए । भने ‘निजी क्षेत्रमा नयाँ स्टक एक्सचेन्ज ल्याउन सक्नु पर्छ, नेप्से र ब्रोकरको सिडिएस सहितका सरोकारवालाको क्षमता अभिवृद्धि आवश्यक छ ।’
नेपाल धितो पत्र बोर्डको आयोजना र सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको सहकार्यमा भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्रबिक्रम बेघा थिए । उनले पुँजी बजार निर्माणको कठिनाइ समस्या समाधानको लागि नियमनकारी निकाय, सरकार र लगानीकर्ताहरूको सहकार्य जरुरी भएको बताए ।
उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष विजय श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा धरानका व्यापारी, व्यवसायी, विद्यार्थी लगायत सहभागी थिए ।