धरान : सुनसरी जिल्ला अदालतले वराहक्षेत्र-२ पुनरबासका भेषराज घिमिरेलाई जबरजस्ती करणीको अभियोगमा ३ वर्ष ६ महिना जेल सजायको फैसला गरेको छ ।
घिमिरेलाई जबरजस्ती करणी उद्योगमा प्रहरीले गत २०८१ वैशाख ९ गते पक्राउ गरेको थियो । जिल्ला अदालतमा उनी विरुद्धको मुद्दाको बुधवार फैसला गर्दै जेल सजाय तोकेको हो ।
सुनसरी जिल्ला अदालतका न्यायाधीश शम्भु गौतमको एकल इजलासले २०८२ वैशाख १७ गते घिमिरेलाई ३ वर्ष ६ महिना जेल सजाय तोकेको हो ।
घिमिरे २०७७ वैशाखदेखि २०८१ वैशाखसम्म बृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष थिए । साथै आदर्श मावि वराहक्षेत्र-२, सुनसरी का भूपू सह-प्रधानाध्यापक, शङ्कराचार्य मठका तत्कालीन अध्यक्ष थिए । साथै उनले आफूलाई राधाकृष्ण भक्ति प्रतिष्ठान, प्रथम जगद्गुरु पीठ वराहक्षेत्र-१ चतराको सदस्य बताउँदै आएका थिए ।
नेकपा एमाले निकट राजनीतिमा सक्रिय घिमिरेलाई बलात्कारको घटना सार्वजनिक भएपछि पार्टीले निलम्बन गरेको थियो ।
२०८० फागुन ३० गते पीडित महिला कुमारी (नाम परिवर्तन) राति करिब ८ बजे आफ्नो कोठामा बसिरहेको अवस्थामा भेषराज घिमिरे कोठामा अचानक प्रवेश गरी जबरजस्ती करणी उद्योगको गरेका थिए ।
पीडित महिला वराहक्षेत्र कुमारीले आफ्नो बचाउमा प्रतिकार गर्दा भेषराज अझ हिंस्रक बनी जबरजस्ती करणी गरेको मुद्दामा उल्लेख छ ।