विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रमिक दिवस १ मईकै दिन शुभारम्भ हुने प्रदेश लगानी सम्मेलनले रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण निर्माण गर्ने उल्लेख गर्दै श्रमिकहरूलाई शुभकामना सन्देश दिएका छन् ।

आज बिहीबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्रीले मई दिवस श्रमजीवी मजदुरहरूको योगदानलाई सम्झने विशेष अवसर रहेको बताउँदै श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध रहेको उल्लेख गरेका छन् ।

सन्देशमा नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गको ऐतिहासिक योगदानले त्यसैको उपलब्धि संविधान २०७२ ले श्रमिकको अधिकार सुनिश्चित गरेकोले अब ती अधिकारको व्यवहारिक कार्यान्वयनमा सरकार जिम्मेवार रहेको बताएका छन् ।

मुख्यमन्त्रीले भनेका छन् ‘आजैको दिन प्रदेश सरकारद्वारा ‘कोशी लगानी सम्मेलन शुभारम्भ गरिएको छ, त्यस मार्फत रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण निर्माणमा नयाँ ढोका खुल्ने विश्वास छ ।’

श्रमजीवी वर्ग र श्रमप्रतिको नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्दै श्रमको सम्मान गर्ने संस्कार विकास गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै सन्देशमा सूचना प्रविधिको युगसँगै श्रमिकलाई नयाँ सीप र अवसरसँग जोड्नुपर्नेमा जोड दिइएको छ ।

मुख्यमन्त्री कार्कीले भनेका छन् ‘राष्ट्रिय पुँजीको विकास, उद्यमशीलता प्रवर्द्धन, श्रमिकको सेवा–सुविधा विस्तार तथा जीवनस्तर उकास्ने दिशामा कोशी प्रदेश सरकार अग्रसर रहेको छ ।’