धरान : युवा चित्रकार महेन्द्र राईको दुई दिने एकल चित्रकला प्रदर्शनी आज शुक्रवार देखी धरान–९ स्थित होटल रत्न इनमा सुरु भएको छ । प्रदर्शनी कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानले आयोजना गरेको हो ।
चित्रकार राईले यसअघि २०६२ सालमा कवि स्व. कृष्ण पाख्रिनका कविताहरूमाथि बनाइएका चित्रहरूको प्रदर्शन गरेका थिए । पाख्रिनको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानको पहिलो काव्य कला सहितको ३ दिने कार्यक्रममा अवसरमा चित्रकला प्रदर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनीमा राखिएका चित्रकलाहरूको समीक्षा गर्दै कवि, साहित्यकार मुकुन्द प्रयासले चित्रकला कविता जस्तै भावनाको अभिव्यक्ति भएको बताए । प्रदर्शनीमा कलाकार महेन्द्रले विभिन्न समयमा सिर्जना गरेका ४५ वटा चित्रकलाहरू राखिएका छन् ।
चित्रकलाहरूमा दृष्यचित्र, व्यक्तिचित्रहरू छन् । चित्रकलाहरू तैलरंग तथा पानीरंगबाट बनाइएका छन् । चित्रकार राईले प्रदर्शनीमा राखिएका हरेक चित्र मानवीय भावना जोड्न परम्परा र आधुनिकताको सन्तुलनबाट तैयार गरिएको बताए ।
चित्रमा प्रयोग गरिएका अलङ्कार, डिजाइन र प्याटर्न आफ्नो मनमा आएका विचार, तर्क र सोच तथा आफ्नो समय बोधलाई अभिव्यक्त गर्ने माध्यमको रूपमा प्रयोग गरिएको उनको भनाई छ ।
राईले धरानको सृजनशील चित्रकला क्षेत्र ३ दशक देखी सक्रिय रहँदै आएका चिरपरिचित कलाकार हुन । पाख्रिन प्रतिष्ठानले चित्रकला प्रदर्शनीलाई निरन्तरता दिँदै भोली शनिवार पोयट्री पार्टीका उत्कृष्ट १० बालबालिकाका कविता वाचन कार्यक्रम गर्दै छ ।
त्यस्को संयोजन कलरव धरानले गर्ने भएको छ । साथै धरानमा कविता विमर्श र इतर अभियानको संयोजनमा कवि शकुन आँसुको काव्य कृति नवयुगकी सुम्निमाको परिचर्चा कार्यक्रम पनि हुँदैछ ।