इटहरी : मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालयलाई बन्द हड्ताल निषेधित क्षेत्र घोषणा गर्न राजनीति दलहरू प्रतिबद्ध भएका छन् । बारम्बार बन्द, हडताल र तालाबन्दीले शैक्षिक तथा प्राज्ञिक क्षति बेहोरिरहेको विश्वविद्यालयमा सम्पूर्ण राजनीति दलहरूले सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
स्थानीय सरोकारवाला दल तथा नागरिकको सामूहिक छलफलबाट बन्द हडताल निषेध गर्ने निर्णय भएको विश्वविद्यालय सरोकार समाजका अध्यक्ष रञ्जन ओझाले बताए । विश्वविद्यालय शैक्षिक केन्द्र मात्र नभएर सामाजिक नेतृत्व विकासको उद्गम स्थल भएको बताउँदै उनले सम्पूर्ण दलहरूको सामूहिक पहल सकारात्मक भएको उल्लेख गरे ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा रहेपनि लामो समय विराटनगरबाटै सम्पूर्ण प्रशासनिक काम रहँदै आएको थियो । केही वर्ष देखी केन्द्रीय कार्यालयबाटै प्रशासनिक काम भए पनि अझैसम्म पूर्ण नभएको दलहरूले बताएका छन् ।
१० बुँदे प्रतिबद्धता र सुझाव दिएका दलहरूले मेरिटको आधारमा पदाधिकारी चयन हुनुपर्ने सुझाव दिएका छन् । संरचनाको मर्मत र सौन्दर्यीकरणमा ध्यान दिनुपर्ने, सामाजिक उद्धमशिलतामा जोड दिनुपर्ने, मेडिकल कलेज सञ्चालन गर्नुपर्ने जस्ता माग राखेका हुन् ।
ज्ञापनपत्र बुझाउँदै नेपाली काँग्रेस सुन्दरहरैँचाका सभापति भक्तिप्रसाद सिटौलाले विश्वविद्यालयले उत्तरी मोरङको मात्र नभएर समग्र प्रदेशको गरिमा बढाएको बताए । प्राज्ञिक थलोमा राजनीतिक बहस हुनुपर्ने बताउँदै उनले राजनीतिक हस्तक्षेपलाई निरुत्साहित गर्नुपर्ने प्रष्ट पारे ।
प्रतिबद्धता जनाउनेमा सुन्दरहरैँचा नगर स्तरका दलहरू छन् । नेपाली काँग्रेस, नेकपा एमाले, जसपा, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी लगायत दलहरूले सामुदायिक प्रतिबद्धता जनाएका हुन् ।