इटहरी : चैत २० गतेदेखि काठमाण्डौमा जारी शिक्षक आन्दोलनमा नेपाल विद्यार्थी सुनसरीले समर्थन जनाएको छ । वैशाख ९ गते विज्ञप्ति जारी गर्दै नेविसंघले शिक्षकमाथि गरिएको विभेद र उपेक्षाप्रति खेद व्यक्त गरेको हो ।
‘नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणका लागि अग्रपङ्क्तिमा उभिएका शिक्षकमाथि सरकारले देखाएको रवैया लज्जास्पद, अपमानजनक र अलोकतान्त्रिक भएको नेविसंघको ठहर छ ।
शिक्षालाई राजनीति होइन, परिवर्तनको मेरुदण्ड ठान्ने हामी लोकतन्त्रवादी विद्यार्थीहरू जारी शिक्षक आन्दोलनप्रति दृढ ऐक्यबद्धता प्रकट गर्दछौँ,’ सभापति प्रमोद भट्टराई द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अहिले आवाजलाई दबाउने होइन, सम्मान गर्ने सरकार चाहिएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाको लागि सानो आवाजको प्रति सुनुवाइ हुनुपर्ने बताइएको छ । नेपाल शिक्षक महासङ्घको आयोजनामा जारी आन्दोलनलाई सरकारले गम्भीरताका नलिएको सभापति भट्टराईले बताएका छन् ।
नयाँ शैक्षीकसत्र सुरु भइसकेको र कक्षा १२ को परीक्षा समेत प्रभावित भइरहेको अवस्थामा आन्दोलन चर्किनु नेपाल सरकारको दोष रहेको उनको भनाइ छ ।   शिक्षकहरूको सुरक्षा विना सामुदायिक शिक्षाको विकास पनि असम्भव रहेको बताउँदै नेविसंघ पेसागत मर्यादा अनुकूल र संवैधानिक हकहरूको रक्षा गर्दै शिक्षकहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।
विद्यार्थी, अभिभावक, नागरिक समाज, प्राध्यापक, बुद्धिजीवी तथा परिवर्तन प्रेमी सम्पूर्ण नागरिकलाई दबाब सृजना गर्न आह्वान गरेको नेविसंघले नागरिक सर्वोच्चताको रक्षा र शैक्षिक उन्नयनमा सदैव लडिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।