वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित पहाडी भू-भागमा रहेका विद्यार्थीहरू कक्षा ९ पढ्न दुई घण्टा भन्दा बढी पैदल हिँडेर धरानको बिष्णुपादुका स्थित भालडुङ्गा माध्यमिक विद्यालय त्यस्तै कोठा भाडामा लिएर चतरा स्थित आदर्श माध्यमिक विद्यालय वा औलिया माध्यमिक विद्यालयमा पुग्नु पर्ने बाध्यता रहेको थियो ।

नगरपालिकाको पहाडी भू-भागमा रहेको उक्त क्षेत्रमा आधारभूत तहसम्मका मात्र विद्यालय रहेका थिए । सुर्यकुण्डमा रहेको सुर्यकुण्ड आधारभूत विद्यालयमा कक्षा ८ सम्म मात्र अध्यापन हुने गरेको थियो । त्यस्तै चावचा स्थित पञ्चकन्या आधारभूत र चियावारीमा रहेको सिंहदेवी आधारभूत विद्यालयमा कक्षा ५ सम्म मात्र अध्यापन हुने भएकाले कक्षा ८ पास गरे पछि त्यहाँका विद्यार्थीहरू घण्टौँ हिँडेर तथा कोठा भाँडामा लिएर चतरामा रहेको विद्यालयमा पढ्न जाने गर्दथे ।

तर अब भने त्यहाँका विद्यार्थीहरूकाे त्यो बाध्यता अन्त्य हुने भएको छ । नगरपालिकाले सुर्यकुण्डमा रहेको सुर्यकुण्ड आधारभूत विद्यालयमा यसै २०८२ सालको नयाँ शैक्षिक सत्रदेखि माध्यमिक तह कक्षा ९ सञ्चालन सुरु गरेपछि त्यहाँ विद्यार्थीहरूको घण्टौँ हिँडेर माध्यमिक तह पढ्न जानू पर्ने बाध्यताको अन्त्य हुने भएको हो ।

मङ्गलवार विद्यालयको प्राङ्गणमा आयोजना भएको कक्षा ९ सञ्चालन सम्बन्धी छलफलमा स्थानीय अभिभावकहरूले गाउँको विद्यालयमा कक्षा ९ सञ्चालन गर्न माग, आफ्नो छोराछोरी गाउँकै विद्यालयमा पढाउने, विद्यालयमा भर्ना अभियान सञ्चालन गर्ने र विद्यार्थीहरूले टाढा पढ्न जान समस्या हुने भएको गुनासो सहितको प्रतिबद्धता गरेका थिए ।

नगर प्रमुख रमेश कार्की, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडा नं १ का अध्यक्ष किसन थापामगर, शिक्षा, युवा तथा खेलकुद विकाश शाखा प्रमुख उत्तमराज भारती, नगर शिक्षा समितिका सदस्य ज्ञानबहादुर पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक राई, प्रधानाध्यापक दिनेशराज कार्की सहित स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षकबिच माध्यमिक विद्यालय सञ्चालन गर्ने विषयमा अन्तर्क्रिया सहितको छलफल भएको थियो ।

छलफल पश्चात् यसै  शैक्षिक सत्रबाट विद्यालयमा कक्षा ९ सञ्चालन गर्ने निर्णय भएको नगर प्रमुख रमेश कार्कीले बताए । अभिभावकहरूले विद्यालयमा विद्यार्थी बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको र नगरपालिकाले शिक्षक, कक्षा कोठा, फर्निचर लगायतका आवश्यक कुराको व्यवस्थापन गर्ने नगर प्रमुख कार्कीले बताए ।

नगर प्रमुख कार्कीका अनुसार  स्थानीयको माग र विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गरेर सुर्यकुण्ड माध्यमिक विद्यालयमा कक्षा ९ सञ्चालन गर्ने निर्णय गरिएको छ । गत शैक्षिक सत्रमा पनि कोशीपारीमा रहेको तत्कालीन जनता आधारभूतलाई माध्यमिक विद्यालय बनाइएको थियो । यसले त्यहाँका विद्यार्थी र अभिभावकहरूलाई ठुलो राहत महसुस भएको छ ।

गाउँकै विद्यालयमा कक्षा ९ को पठनपाठन सुरु भएपछि वर्षदेखिको विद्यार्थीको चाहना पूरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा सदस्य दिपल राईले  बताए ।

निम्न वर्गीय परिवारको उक्त क्षेत्रमा रहेको विद्यालयमा नै कक्षा ९ सञ्चालन हुने भएपछि स्थानीय अभिभावक र विद्यार्थीहरूलाई ठुलो राहत मिलेको स्थानीय समाजसेवी धनकुमार राईले बताउँछन् । हाम्रो विद्यार्थीहरूको समस्यालाई बुझेर नगर प्रमुख रमेश कार्कीले विद्यालयलाई मावि बनाउने कार्य गरेको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

२०३४ सालमा स्थापना भएको उक्त विद्यालयमा २ जना बाल विकास शिक्षिका, १ जना कर्मचारी गरी ११ जना शिक्षक रहेका छन् । विद्यालयमा हाल १ सय १७ भन्दा बढी  विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयको प्रधानाध्यापक दिनेशराज कार्की बताए ।

Suryakunda-school-01