धरान : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज सोमवार भेट्न पुगेका धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलाई प्रधानमन्त्रीले धरानको खानेपानी आयोजनाको प्रक्रिया आजैबाट अघि बढेको वचन दिएका छन् ।
काठमाण्डौका मिडियाले उक्त समाचार दिएपछि अहिले धरान नगर प्रमुख साम्पाङको प्रधानमन्त्री ओलीसँगको भेट सामाजिक सञ्जालमा भाइरल भएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सरकारको विवाद शिखरमा रहेको बेला प्रधानमन्त्री ओलीले धरानका प्रमुख हर्क साम्पाङले सङ्घीय सरकारका प्रधानमन्त्रीले दिएको वचन राजनीतिक महत्वको भएको विश्लेषकहरूले बताएका छन् । काठमाण्डौका मेयर बालेन र धरानका हर्क साम्पाङ स्वतन्त्र उम्मेदवारीबाट विजयी मेयर हुन ।
धरान तथा धरानवासीको लागि भने खानेपानी आयोजनाको प्रक्रिया अघि बढेको खबर सु:खद विषय बनेको छ । यसअघि धरानका राजनीतिक दलहरूले पनि खानेपानीको समस्या समाधानका लागि सङ्घीय सरकारमा लबिङ गर्दै आएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाई, वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ सहितको प्रतिनिधि मण्डलसँग भेट गरेका हुन ।
भेटमा प्रधानमन्त्री ओलीले प्रतिनिधि मण्डललाई भने ‘धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो ।’ उनले खानेपानीको योजनाका लागि सङ्घीय सरकारले बजेटको प्रबन्ध लगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्ने वचन पनि दिए
प्रधानमन्त्रीले भने ‘यो सन्देश धरानवासीलाई सुनाइ दिनुहोला ।’ खानेपानी आयोजनाकालागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ ।
सोही अवसरमा फोहोर मैला व्यवस्थापनका लागि बुझाइएको ज्ञापन पत्र ग्रहण गरी प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिल्ड साइट बनाउनु पर्नेमा जोड दिए ।