धरान : अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएपछि पद बहाल गरे लगत्तै डोनाल्ड ट्रम्प र उनका सहयोगी एलन मस्कले लागु गरेको नीति विरुद्ध अमेरिकाको सहरहरूमा शनिवार विरोध प्रदर्शन भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएको छ ।

ट्रम्प प्रशासनले गरेको आदेशहरू र डज भनिएको सरकारी विभागको प्रमुख एलन मस्कले व्यक्तिगत डाटा निगरानी गरेको, सरकारी निकायमाथि भइरहेको हस्तक्षेप विरुद्ध प्रदर्शन भएको हो ।

विरोध प्रदर्शनमा अमेरिकी ५० वटै राज्यमा ‘ह्याण्डस् अफ’ नामक अन्तर्राष्ट्रिय विरोध दिवस मनाउँदै लाखौँ अमेरिकीहरू सहभागी भएका थिए । ट्रम्प विरुद्ध उनले राष्ट्रपति पदभार सम्हालेको ७५ दिनमा प्रदर्शन भएको हो ।

विरोध प्रदर्शनमा ६ लाखको सङ्ख्याले औपचारिक रूपमा विरोध प्रदर्शनमा सहभागी भएको जनाउँदै हस्ताक्षर समेत गरेको जनाइएको छ ।

विरोध प्रदर्शनमा नागरिक अधिकार सङ्गठनहरू, श्रमिक युनियनहरू, अधिवक्ताहरू, भूतपूर्व सैनिकहरू र निर्वाचन कार्यकर्ताहरू सहित १५० भन्दा बढी समूहहरूले आयोजना गरेको समाचार संस्था सिएनएनले जनाएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति ट्रम्प र उनका दाहिना हाथ बनेका अर्बपति एलन मस्कले सरकारी कटौती, अर्थतन्त्र, आप्रवासन र मानव अधिकारमाथि गरेको कदमको विरोध गरेका छन् ।

प्रदर्शनकारीहरूले हजारौँ सङ्घीय कर्मचारीहरूलाई बर्खास्त गर्ने, सामाजिक सुरक्षा प्रशासनका क्षेत्रीय कार्यालयहरू बन्द गर्ने, सम्पूर्ण एजेन्सीहरूलाई प्रभावकारी रूपमा बन्द गर्ने, आप्रवासीहरूलाई देश निकाला गर्ने, तेस्रो लिङ्गीहरूको लागि सुरक्षा कटौती गर्ने र स्वास्थ्य कार्यक्रमहरूको लागि अनुदान कटौती गर्ने कदमप्रति प्लेकार्ड प्रदर्शन गर्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रदर्शनकारीहरूले ३ वटा मुख्य माग राखेका छन् । अर्बपतिहरूको अधिग्रहण र ट्रम्प प्रशासनको व्यापक भ्रष्टाचारको अन्त्य, सरकारबाट उपलब्ध गराइने पूर्ण स्वास्थ्य बिमाको कार्यान्वयन, सामाजिक सुरक्षाको सर्वपक्ष ग्यारेन्टीको माग उनीहरूले गरेका छन् ।

राजधानी वासिङ्टन डिसीको नेसनल मलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले ‘हे हो, ट्रम्पस् गोट गो’ जस्ता नारा लगाए । उनीहरूले ‘प्रोटेक्ट योर कन्स्टिच्युसन’ र ‘ह्यान्ड अफ योर राइट्स’ लेखिएको प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

Donald-trump-birodh-02

Donald-trump-birodh-03