धरान : २५ औँ संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १५ नं. वडा फाइनलमा पुगेको छ । सोमबार बेलुकी धरान रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा ५ नं. वडालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ५ नं. वडाका टेकराज लिम्बू र बिपुल मगर गोल गर्न चुकेपछि १५ नं. वडा विजयी भएको हो । १५ नं. वडाकालागी एरिक गुरुङ, मदन लाबुङ, आशुतोष राई र नगेन राईले गोल गरे ।

५ नं. वडाका अमित विक र मन्दिप राईले मात्रै गोल गरे भने टेकराज लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो भने बिपुल मगरको प्रहार आकासिएको थियो ।निर्धारित समयमा उत्कृष्ट खेलेको ५ नं. वडाले स्कोर भने गर्न सकेन ।
५ नं. वडाको आधा दर्जन फ्री किकको १५ नं. वडाका गोल किपर प्रवीण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए । खेलको म्यान अफ द म्याच १५ नं. वडाका सुगम जिमी घोषित भए । उनलाई नगद २ हजार पुरस्कार प्रदान गरिएको थियो ।
फाइनलमा पुगेको १५ नं. वडाले फ्री क्वाटर खेलमा ८ नं. वडा र क्वाटर फाइनलमा १३ नं. वडालाई पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यस्तै ५ नं. वडाले फ्री क्वाटरमा १६ र क्वाटर फाइनलमा ११ नं. वडालाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
भोली मङगलबार साँझ ७ बजे वडा नं. १७ र वडा नं. १४ बिच सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ । चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।