काठमाण्डौं : राजाको शासन चरित्र कस्तो हुन्छ भनेर शुक्रवार तीनकुनेमा देखिएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
उनले भने ‘हामी राजाका समर्थक हौंं, फेरि यो देशमा राजा ल्याउँछौ भनेर ज्युँदै मान्छेलाई घरमा आगो लगाएर जलाउने काम भएको छ।’

राजाको शासन ल्याउँछु भन्नेहरूबाट घरमा आगो लगाएर पत्रकारलाई ज्युँदै जलाउने दुस्साहसप्रति दुःख प्रकट गर्दै उनले भने ‘यसमा म दुःख व्यक्त गर्न चाहन्छु ।’
गृहमन्त्रीले व्यवसायीहरूको पसलमा ढुङ्गा मुढा, तोडफोड लुटपाट मच्चाउने काम गरिएको बताए ।
रिपोर्टर्स क्लबको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि गृहमन्त्री लेखकले मुलुकमा लोकतन्त्र नहुँदा सञ्चार जगत् त्रसित, प्रतिबन्धित र निर्देशित हुने बताए । भने ‘वर्तमान सरकारले सञ्चारको सुरक्षा गर्ने ज्ञारेन्टी दिएको छ ।’
उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउँदै गल्ती र कमजोरी भएको छ भने सुधारेर जानु पर्ने बताउँदै भने ‘लोकतन्त्रको विरुद्ध निरङ्कुशता विकल्प हुन सक्दैन ।’
गृहमन्त्री लेखकले राजाको निरङ्कुश शासनको बारेमा थाहा नभएकाहरू भ्रममा बस्न नहुने बताए । राजाहरूलाई प्रश्न गर्न नपाइने इतिहास स्मरण गराए ।
राजतन्त्रको शासन नदेखेको मान्छे पनि भएकोले १८ वर्षअघि राजाको शासन थियो, अहिले युवाहरूलाई राजतन्त्रबारे केही थाहा नहुन सक्छ, राजाको शासनमा आलोचना गर्न पाइन्छ कि पाइँदैन भनेर सोधे पुग्ने गृहमन्त्रीको भनाई थियो ।
उनले भने ‘राजतन्त्रमा राजालाई प्रश्न गर्न पाइँदैन, प्रश्न गर्ने कोसिस गर्यो भने जेल जानुपर्छ ।’ जति यो देशमा राजाको शासन चल्यो कुनै पनि नागरिकले राजालाई प्रश्न गर्न नसकेको बताए ।
अहिले प्रधानमन्त्रीदेखि राष्ट्रपति सम्म लाई प्रश्न पाइने गृहमन्त्रीले बताए ।