धरान : याक्थुङ लिम्बू मातृभाषाको चलचित्र तथा सर्वोत्कृष्ट कलाकारहरूलाई विधागत प्रदान गरिने अवार्डका लागि चलचित्र विधामा ११ वटा चलचित्र दर्ता भएको छ ।
अवार्ड वितरण समारोह आउँदो मङ्सिर १८ गते हुँदै छ । समारोह याक्थुङ चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिले आयोजना गर्न लागेको हो ।

_1743784132.gif)
सङ्घको आधिकारिक फेसबुक पेज मार्फत शनिवार अवार्डका लागि चलचित्र विधामा ११ वटा याक्थुङ लिम्बु मातृभाषाका चलचित्र दर्ता भएको जनाइएको हो ।अवार्ड वितरण समारोह बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरिएम हलमा हुने भएको छ ।
पहिलो ‘याक्थुङ सिने अवार्ड २०८१’ अवार्डका लागि दर्ता भएका चलचित्रहरुमा विजय संयोक सुब्बाको निर्देशन रहेको हाङ्नाङ्द, प्रेम सुब्बाको निर्देशन रहेको माङ्गेना, दिनेश माङमुको निर्देशन रहेको युक्पुङ रहेका छन् ।
यस्तै सागर सुब्बाको लोजिमा, प्रकाश लिम्बुको निर्देशन रहेको खोक्पा र येक्पा, लोकेन साँवा लिम्बुको निर्देशन रहेको सुगुप, सागर केरुङको निर्देशन रहेको, के २०२३, तेज मेन्याङबोको इच्छिङ, राज श्रेष्ठको सिक्कुम र अर्को एक लिम्बु चलचित्र दर्ता भएको सङ्घले सार्वजनिक गरेको हो ।
अवार्ड दुई वटा विद्याहरू चलचित्र तर्फ र लघु चलचित्र तर्फ फरक फरक शीर्षकमा प्रदान गरिने छ। चलचित्र तर्फ ७ वटा विधा र लघु चलचित्र तर्फ ५ वटा विधामा अवार्ड प्रदान हुने छ ।
चलचित्र विधामा सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्रदान गरिने छ ।
लघु चलचित्र तर्फ उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, पब्लिक चोईस लघु चलचित्र विधामा अवार्ड प्रदान गरिने छ ।अवार्डका लागि ८ नियम भित्र रहेका चलचित्र तथा कलाकार चयन गरिने छ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक लेखक उपेन्द्र सुब्बा, मोडल माल्भिका सुब्बा, नायिका परीक्षा लिम्बु लगायतको उपस्थिति रहने जनाइएको छ ।