इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कुण्ठा व्यक्त गर्न थालेका छन् । शुक्रवार सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दे उनले दुईचार हजार मान्छे उतारेर राजसंस्था नआउने बताए । राप्रपाको अध्यक्षमा पराजित भएसँगै देश दौडाहा निस्किएका उनले पूर्व राजा र अध्यक्ष लिङ्देन प्रति रोष प्रकट गरे।
पूर्वराजा शाहले निर्मल निवासबाट राप्रपामा गुटबन्दी गरेकाले आफू अध्यक्षमा पराजित भएको उनले बताए । आफू १५ वर्षदेखि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको तर अहिले त्यही संस्थाले आफूमाथि प्रहार गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

_1743784132.gif)
अहिले राप्रपामा हस्तक्षेप गरेको निर्मल निवासले भोलि काँग्रेस एमालेमा पनि हस्तक्षेप गर्न सक्ने भन्दै थापाले बेलैमा सचेत हुन जरुरी रहेको बताए । हिन्दुराज्य र राजसंस्थाको मुद्दा बोकेर हिँडेका थापा अब हिन्दुराज्यलाई मात्र नयाँ पार्टीको मुख्य सैद्धान्तिक पक्ष बनाउने तयारीमा छन् । राजसंस्थाप्रति जनताको विश्वास नभएकाले आफू पुनर्विचार गर्न तयार भएको उनको भनाई छ।
अध्यक्ष लिङ्देनले भेटमा सम्मान व्यक्त गरे पनि राजसंस्था छाड्ने माग पुरा नगर्ने भएपछि निरीह, लाचार, अपमानित र अपहेलित भएर बस्न नसकेकाले पार्टी छाड्न बाध्य भएको बताए । फरक प्रसङ्गमा बोल्दै थापाले एमसिसी कार्यान्वयन गर्दा केही आपत्ति नहुने बताए।