धरान : चार दिनअघि भारतीय ‘सुटर’द्धारा गोली हानी हत्या गरिएका सुनसरीको हरिनगरा गाउँपालिका २ भुटाहाका खुर्सिद अन्सारीको चरित्रहत्या गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको छ । प्रशासनले भने उजुरीलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा पठाउने तयारी गरेको छ ।
बिहिबार बिहान करिब ११ बजे भुटाहा चोकमा खुर्सिदको हत्या गरिएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा उनलाई भारतीय आतंकवादी संगठनसँग जोडेर समाचार प्रकाशन भएको थियो । सञ्चारमाध्यमहरुमा आएको समाचारको बिषयमा नेपाल सरकारको कुनै प्रतिक्रिया आएको छैन । यस्तो गम्भीर आरोपमा मुछिएका खुर्सिदलाई स्थानीयको माग वमोजिम शहीद घोषणा र १० लाख क्षतिपुर्ति दिने निर्णय मन्त्रीपरिषदले गरिसकेको छ । माग पुरा भएपछि उनको शव शनिबार धार्मिक सँस्कारअनुसार अन्त्येष्टी पनि गरिएको थियो ।
खुर्सिदको हत्यापछि मिडियाहरुमा आतंकवादी संगठनसँग नाम जोडेर समाचार आएको र सामाजिक सञ्जालहरुमा पनि लेखिएको बिषयमा भने जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको प्रजिअ प्रेमप्रकाश उप्रेतीले जानकारी दिए । उजुरीमा व्यक्तिहरुको फेसबुक विवरण, समाचारसमेत भएकोले अनुसन्धान र कारबाही गर्ने निकायमा पठाउने उप्रेतीले जानकारी दिए । ‘अहिले कानुन पनि कडा छ, मान्छे मृत्यु भएपछि के के समाचारहरु आएका छन्, त्यसबिषयमा उजुरी परिसकेको छ,’प्रजिअ उप्रेतीले भने,‘प्रमाणसहित लेख्या भएपनि हुने । घटना हुन पाएको छैन, जतापायो त्यतै लेख्ने, बोल्ने गर्नु राम्रो नि भएन । यो बिषयमा कारबाही गर्ने निकाय सिआइबी हो, उतै पठाउछुँ । मलाई डिटेल नसोध्नुस् ।’
"सन् २००८ मा भारतमा श्रृंखलावद्ध बम विष्फोट गराएको आतंकवादी संगठनका लडाकुहरुलाई खुर्सिद सुनसरीमा नेपाली नागरिकता दिलाएको भन्दै भारतले मोष्ट वान्टेडको सुचीमा राखेको समाचारहरुमा जनाइएको थियो ।" चार जना आतंकवादी संगठनका लडाकुहरुलाई नेपाली नागरिकता दिलाएको भन्दै भारतले खुर्सिदलाई पक्राउ गरी सुपुर्दगी गर्न नेपाल सरकारलाई दबाब दिएको पनि सञ्चारमाध्यमहरुले लेखेका थिए । नेपालमा मात्र होइन, खुर्सिदको हत्या पछि भारतीय मिडियाहरुले पनि उनलाई आतंकवादी संगठनका लडाकुहरुलाई नागरिकता दिलाएको भन्दै लेखेको थियो । खुर्सिद तत्कालीन नेकपा एमाले पार्टीमा आवद्ध भएर राजनीतिमा पनि सक्रिय थिए भने विद्यालय सञ्चालक र मौलाना पनि थिए ।
उनीसँग लामो समय राजनीति गरेका स्थानीय एवं तत्कालीन एमालेका जिल्ला नेता लस्करी अन्सारी पनि ज्युँउदो हुदा कसैले केही नभन्ने, नलेख्ने तर मान्छे मृत्यु भइसकेपछि जथाभावी लेखेको भन्दै असन्तुष्टी व्यक्त गर्छन् । ‘उहाँले त्यस्तो मान्छेहरुलाई नागरिकता दिएको भए को को बाउ आमा भएको हो, कस्ले सही गरेर नागरिकता दिएको हो, उसलाई अहिले पनि कारबाही गर्दा हुन्छ । खुर्सिदलाई सरकारले, भारतले पक्राउ गर्न खोजेको भनेर कहिल्यै सुनिएन,’उनी भन्छन्,‘अहिले मरिसकेपछि वदनाम गर्ने काम भइरेको छ । बाचुञ्जेल चै यस्तो कुरा किन भएन ?’
हुन त सरकारले घटनाबारे छानबिन गर्न सिआइबीको टोली र प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसएसपी किसोरकुमार दाहालको नेतृत्वमा ५ सदस्यीय अलग अलग टोली खटाइसकेको छ । दुवै टोलीले खुर्सिद हत्याकाण्डबारे पक्कै पनि गर्भमा रहेको रहस्य खोतल्ने नै छ । नेपालमा मुस्लिम अगुवाहरु मारिएको यो नै पहिलो घटना भने होइन । विगतमा राजधानीमै पनि मुस्लिम अगुवालाई गोली हानि हत्या गरिएको घटनासँग नेपालीहरु भुक्तभोगी छन् । ती सबै घटनामा भारत जोडिने गरेको छ । भारतमा आतंक फैलाउने समुहहरुसँग साठगाठ भएको आरोपमा योजनावद्धढंगले भारतले नै ती मुस्लिम अगुवाहरुलाई हत्या गरेको भनिदै आएको छ ।