धरान: देशभर महिला बलात्कार, हत्या र हिंसाको घटना वृद्धि हुदा अपराधमा संलग्नहरुले उन्मुक्ति पाइरहेको बेला बलात्कार जस्तो गम्भीर अपराधलाई मिलापत्र गराएर गुपचुप बनाउने बरिष्ठ प्रहरी अधिकृतलाई भने सरकारले पदक दिएर सम्मान गरेको छ ।
हाल डोटी प्रहरी प्रमुखकोरुपमा कार्यरत एसपी विद्यानन्द माफीलाई सरकारले प्रवल जनसेवा श्री पदक दिएको हो । बलात्कारी जोगाउने माझीलाई सरकारले विभुषण प्रदान गरेपछि अहिले सर्वत्र आलोचना भइरहेको छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याएवापत यो पदक मंगलबार प्रदान गरेकी हुन् । माझी विगतमा सुनसरी प्रहरी प्रमुख हुदा बलात्कारी जोगाएको खुलेपछि कारबाहीमा परेका थिए ।
सुनसरीको तरहराकी १६ बर्षीय बालिकालाई जर्बजस्ती गर्ने उनका प्रेमी धरानका जोकम लिम्बु र जोकमका साथी विराटनगर निवासी मनिष भन्ने जीवन श्रेष्ठलाई कारबाही गर्नुको साटो एसपी माझीको निर्देशनमा जोगाइएको थियो । विचौलियाहरुले घटनालाई गुपचुप राखी मिलापत्र गराई ठुलो आर्थिक लेनदेन गरेका थिए । आर्थिक लेनदेन गरेर मिलापत्र गराई बलात्कारजस्तो गम्भीर अपराधलाई गुपचुप राखेको भन्दै एसपी माझीसँगै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चिरञ्जिवि दाहाल निलम्बनमा परेका थिए । घटनाबारे अनुसन्धान गर्न एसएसपी हरिबहादुर पालको संयोजकत्वमा समिति बनेको थियो । तीन महिनासम्म निलम्बनमा परेका एसपी माझीलाई पछि प्रहरी प्रधान कार्यालयले ग्रेड रोक्का गरी फुकुवा गरेर डोटी जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।